लागुऔषध दुर्व्यसन विरुद्ध सचेतनामुलक श्रव्यदृश्य सामग्रीको अनावरण


सेवारो खबर  56 पटक हेरिएको

विराटनगर: कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले निर्माण गरेको लागुऔषध दुर्व्यवसन विरुद्ध सचेतनामुलक श्रव्यदृश्य सामग्रीको मंगलबार अनावरण गरिएको छ ।

कार्यालयले लिम्वु, मैथिली, राई र थारु भाषामा निर्माण लागुऔषध दुर्व्यवसन विरुद्ध सचेतनामुलक सामग्री मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अनावरण गरेको जनाइएको छ ।

श्रव्यदृश्य समाग्रीको अनावरण कार्यक्रममा  मुख्यमन्त्री कार्कीले वर्तमान अवस्थामा बढ्दै गईरहेको लागुऔषधको प्रयोग तथा ओसार पोसार नियन्त्रणमा सचेतना मुलक श्रव्यदृष्य सामग्रीले समाजलाई सकारात्मक सन्देश प्रवाह गर्ने बताए । उनले भिडियो सामग्रीलाई जनमानसमा पुर्याई प्रत्येक आमाहरुसँग समन्वय र सहकार्य गरी समाजमा लागुऔषध दुर्व्यसन नियन्त्रणमा लाग्न सबै नागरिकलाई आग्रह गरे ।

मुख्यमन्त्री कार्कीले बढ्दो लागुऔषध दुर्व्यवसनलाई नियन्त्रण गर्न भिडियो कोषेढुंगा सावित हुने बताउँदै भिडियो निर्माण गर्ने प्रहरी कार्यालय लगायतको टिमलाई धन्यवाद व्यक्त भने ।

अनावरण कार्यक्रममा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङले लागुऔषध दुर्ब्यसनीहरुलाई नियन्त्रण तथा निरुत्साहित गर्ने उद्देश्यले बिभिन्न भाषाहरुमा तयार पारिएको लागुऔषध सम्बन्धी श्रब्यदृश्य सामग्रीले अभिभावकहरु प्रती एक प्रकारको सकारात्मक छाप छोड्नेमा विश्वास व्यक्त गरे ।

प्रहरी नायव महानिरीक्षक खापुङले श्रब्यदृश्य सामाग्रीले अविभावकलाई आफ्नो छोरा छोरी लागुऔषध दुर्व्यसनीमा फसेको वा नफसेको लक्षणहरु थाहा पाउन सजिलो हुने बताउँदै सबै तहमा पुर्याउँनु पर्नेमा जोड दिए । उनले सबै नागरिकमा पुर्याउँन सामाजिक संजालको महत्वपूर्ण भूमिका रहने हुँदा उपस्थित संचारकर्मी र प्रहरी कर्मचारीहरुसँग अनुरोध गरे ।

अनावरणका अवसरमा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारी, सामाजिक विकास मन्त्री पाँचकर्ण राईले समेत आ-आफ्नो मन्तव्य राखेका थिए । प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक भीमबहादुर दाहालले स्वागत गरेको कार्यक्रममा राज्य मन्त्री सिर्जना राई, सामाजिक विकाश मन्त्रालयका निमित्त प्रदेश सचिव दामोदर फुयल, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त प्रदेश सचिव कमल थापा, नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटा, प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक अबिनारायण काफ्ले सहित प्रहरी उपरीक्षकहरु लगायत प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुका साथै संचारकर्मीहरुको  उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार