राष्ट्रिय सभामा अधिकांश सीटमा सत्ता गठबन्धन,एमाले खुम्चियो


सेवारो खबर  195 पटक हेरिएको

राष्ट्रिय सभाका १९ सीटका लागि बिहीवार भएको निर्वाचनमा कोशी प्रदेशको एकबाहेक सबै सीटमा सत्तारूढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

निर्वाचन आयोगले बिहीवार साँझ सार्वजनिक गरेको परिणामअनुसार गठबन्धनका १८ जना र विपक्षी नेकपा एमालेका एक जना राष्ट्रिय सभा सदस्य निर्वाचित भएका हुन् ।

आगामी फागुन २० गतेदेखि राष्ट्रिय सभाका २० जना सदस्यको पद रिक्त हुँदै छ।

त्यसमध्ये बिहीवार १९ जना चयनका लागि निर्वाचन भएको हो भने एक सदस्य राष्ट्रपतिबाट मनोनीत हुने छन्।

दुई-दुई वर्षमा राष्ट्रिय सभाको एकतिहाइ सदस्यको पद रिक्त हुने गर्छ।

कति थिए उम्मेदवार ?

यसपालि १९ पदका निम्ति आठ दलका ५१ उम्मेदवार प्रतिस्पर्धामा थिए ।

आगामी फागुन २० गते कार्यकाल सकिने राष्ट्रिय सभा सदस्यमा नेकपा एमालेका आठ जना, नेपाली कांग्रेसका चार जना, नेकपा माओवादी केन्द्रका तीन जना, नेकपा एकीकृत समाजवादीका दुई जना र जनता समाजवादी पार्टीका एक जना र दुई स्वतन्त्र सांसद छन् ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना पनि कार्यकाल सकिने सांसदमा पर्छन् ।

यो निर्वाचनका लागि सत्तारूढ गठबन्धनमा रहेका नेपाली कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादीलगायतका दलहरूले तालमेल गरेर उम्मेदवार अगाडि सारेका थिए ।

विपक्षी दलहरू नेकपा एमाले र राप्रपाले पनि गठबन्धन गरेका थिए ।

को निर्वाचित भए ?

निर्वाचन आयोगका अनुसार सात प्रदेशमा निम्न उम्मेदवार विजयी भएका छन्:

  • कोशी प्रदेश: नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला र एमालेकी रुक्मिणी कोइराला
  • मधेश प्रदेश: कांग्रेसका आनन्दप्रसाद ढुंगाना र जसपाकी पूजा चौधरी
  • बागमती प्रदेश: कांग्रेसकी विष्णुदेवी पुडासैनी र जीतजङ्ग बस्नेत, माओवादीका श्रीकृष्णप्रसाद अधिकारी र समाजवादीका घनश्याम रिजाल
  • गण्डकी प्रदेश: कांग्रेसका किरणबाबु श्रेष्ठ र पदम परियार एवं माओवादीकी मनरुपा शर्मा
  • लुम्बिनी: कांग्रेसकी विष्णुकुमारी सापकोटा र माओवादीका झक्कुप्रसाद सुवेदी
  • कर्णाली प्रदेश: नेकपा एकीकृत समाजवादीकी सावित्री मल्ल, माओवादीका विष्णुबहादुर विक र कांग्रेसका कृष्णबहादुर रोकाया
  • सुदूरपश्चिम प्रदेश: कांग्रेसका नरदेव भट्ट र बलदेव बोहरा एवं माओवादीकी रेनु चन्द

विगतमा जस्तै गठबन्धनबीचको तालमेलका कारण प्रमुख प्रतिपक्षी एमालेले राष्ट्रिय सभामा सीट गुमाउनुपर्‍यो ।

मतदाता कति थिए?

राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता हुने कानुनी व्यवस्था छ ।

यसपालि ५४९ जना प्रदेश सभा सदस्य एवं गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख १४९८ जना गरी जम्मा २०४७ जना मतदाता थिए ।

प्रदेशसभा सदस्यतर्फको कुल मतदाता ५५० रहेकोमा एक जनाको निधन भएकाले सङ्ख्या कम देखिएको हो ।

त्यसैगरी निधन भएका गाउँपालिका अध्यक्ष एक जना, उपाध्यक्ष एक जना, नगरपालिका उपप्रमुख एक जना र निलम्बनमा परेका गाउँपालिकाका अध्यक्ष एक जना एवं नगरपालिकाका प्रमुख चार जना गरी आठ जनाको नाम मतदाता नामावलीमा परेको थिएन ।

मतभार कसको कति ?

मतदातामध्ये प्रदेश सभाका सदस्यको मतभार ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १९ थियो ।

यस पटकको राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेश सभा सदस्यको कुल मतभार २९,०९७ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको कुल मतभार २८,४६२ गरी जम्मा ५७,५५९ रहेको निर्वाचन आयोगले जनाएको छ ।@bbc.comबाट ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार