इलाम: इलामबासीले मेची राजमार्गको सडक स्तरोन्नति वा नयाँ विकल्प खोज्न प्रधानमन्त्रीलाई मंगलबार ज्ञापन बुझाएका छन् ।
उनिहरुले इलाम नगरपालिका–९ मा पर्ने गोलाखर्क भञ्ज्याङ र माइखोला खण्डको सडकलाई सबै सिजनमा नियमित सञ्चालन गर्न दबाब जिल्ला प्रशासन मार्फत ज्ञापन पत्र बुझाएका हुन ।
प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै स्थानीयले बर्खामा कुनै पनि हालतमा इलाममा गाडी बन्द नहुनेगरी विकल्प खोज्न माग गरेका छन् ।
ज्ञापन पत्र मार्फत इलामबासीले मेची राजमार्गको राजदुवालीछेउको सडक स्तरोन्नति वा नयाँ विकल्प खोज्न माग गरेका छन् । जिल्लाका विभिन्न सरोकारवाला सरकारी कार्यलयमा धर्न दिइ सरकारको ध्यानाकर्षण गराउँदै सडक मर्मत नभएमा वा तत्काल बिकल्प नभई सडक बन्द भएमा आन्दोलन गर्ने चेतावनी समेत दिए ।
जिल्ला प्रशासन कार्यालय पुगेर नारा–जुलुस गरेका स्थानियले राजमार्ग बन्द हुँदा इलाम, पाँचथर र ताप्लेजुङको यातायात ठप्प हुने भन्दै तत्काल यसको समाधानमा लाग्न आग्रह गरे ।
डिभिजन सडक कार्यालयमा समेत पुगेर मेची राजमार्गको राजदुवाली खण्डको स्तरोन्नति र विकल्पका लागि दबाब दिएका छन् । डिभिजनलाई छुट्टै ज्ञापनपत्र बुझाउँदै उनीहरूले तत्काल सडक सुधार कार्य अघि नबढाए चरणबद्ध आन्दोलनका साथ अघि बढ्ने जनाएका छन् ।
अभियानको नेतृत्व गरेका प्रकाश चापागाईंले आफूहरूले सात दिनभित्र कुनै न कुनै ‘रिजल्ट’ नआए आन्दोलनका कार्यक्रम सुरु गर्ने चेतावनी दिए । ‘यो पनि पहिलो चरणको आन्दोलन नै हो,’ उनले भने, ‘सात दिनभित्र कुनै नतिजा आएन भने दोस्रो चरणको आन्दोलन सुरु हुन्छ ।’
राजदुवाली क्षेत्रमा विगत वर्षहरुबाटै सडक भास्सिने, दबिने र पहिरो गइ बाटो अवरुद्ध हुनेक्रम निरन्तर छ । गत असोजको पहिरोले यो क्षेत्रको करिब दुई सय मिटर सडक क्षतिग्रस्त बनाएको थियो । त्यतिबेला करिब दुई साता सवारीका साधन बन्द भए । अहिले एकर्फी सडक सञ्चालनमा छ तर पानी परिसक्दा बन्द हुने निश्चितझैं छ । मेची क्षेत्रको ‘लाइफ लाइन’ मानिएको यो राजमार्गको अवस्था अहिले भयावह छ ।