संयुक्त पहिचानवादी मोर्चा बनाउँदै देश जिम्मा लिने राष्ट्रीय दल निर्माण गर्ने घोषणा


सेवारो खबर  30 पटक हेरिएको

धरान: संयुक्त पहिचानवादी मोर्चा बनाउँदै देश जिम्मा लिने राष्ट्रीय दल निर्माण गर्ने घोषणा गरेका छन् ।

पहिचान पक्षधरले शुक्रबार धरानमा पत्रकार सम्मेलन गर्दै राष्ट्रिय राजनीतिक शक्ति निर्माण गर्नका लागि संयुक्त पहिचानवादी मोर्चा गठन गरेको जानकारी गराए ।

मोर्चाको नेतृत्व प्राध्यापक डाक्टर महेन्द्र लावतीले सम्हालेका छन् । मोर्चाले पहिचानवादी दलहरूलाई एक ठाउँमा उभ्याउने आधार निर्माण गर्ने बताए ।

‘हामीले लामो कसरतपछि एउटा मोर्चा गठन गरेका छौँ’ पहिचानवादी मोर्चाका संयोजक लावतीले भने, ‘यसलाई सकारात्मक लिई मोर्चाको कामकारबाहीलाई सपोर्ट गरिदिन आग्रह गर्दछु ।’

यो मोर्चा निर्माण हुनुका पछाडि अनेकन घटनाहरू जोडिएका छन् । २०७९ फागुन १७ गते १ नम्बर प्रदेशको नाम कोशी राखिएसँगै पहिचानवादी दलहरूले संयुक्त रूपमा विरोध जनाए । फलतः एकजनाले शाहदत पनि प्राप्त गरे । जसले गर्दा डकेन्द्रसिंह थेगिमको संयोजकत्वमा प्रदेश नम्बर १ पुनः नामाङ्कन अभियान समिति नै गठन भयो ।

थेगिम त्यही व्यक्ति हुन् जसले स्वतन्त्रबाट इलाम २ मा उम्मेदवारी दिई नेकपा (एमाले) का उपाध्यक्ष एवम् संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङका छोरा सुहाङ नेम्बाङसँग पराजित भए । उनलाई पहिचानवादी दलहरूले नै संयुक्त रूपमा उठाएका थिए । यी विभिन्न घटनाक्रमबाटै पनि पहिचानवादी मोर्चा गठन हुने छनक आएको थियो । जसलाई प्रा.डा. महेन्द्र लावतीले पनि एकातर्फबाट नेतृत्व गरेका थिए ।

लावती आफ्नो पिताको राजनीतिक ‘लिगेसी’ लाई पुनःस्थापित गर्न चाहेको देखिन्छ । देश सङ्घीयतामा गए पनि पहिचानवादी दलहरूले ‘पहिचानमा आधारित न्यूनतम १० प्लस १’ को आवाज उठाउँदै आएको छ । यो मुद्दालाई सबैभन्दा बढी कुमार लिङ्देन नेतृत्वको पार्टी सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले उठाउँदै आएको थियो ।

तर लिम्बुवानी आन्दोलनको प्रारम्भ भने वीर नेम्बाङले गरेका थिए । पञ्चायतकालमै पहिचानको आन्दोलनकै कारण उनको टाउकोमा मूल्य पनि तोकिएको थियो । त्यसपश्चात् पहिचानको आन्दोलनलाई राष्ट्रिय जनमुक्ति पार्टी (हाल नेपाल जनमुक्ति पार्टी) ले अगाडि बढाएको थियो । जुन आजपर्यन्त जारी छ । यस मोर्चामा नेपाल जनमुक्ति पार्टी पनि सम्मिलित छ ।

नयाँ राष्ट्रिय राजनीतिक शक्ति निर्माणको सुरुवात गर्न बिहीबार धरानमा बसेको बैठकले पहिचानवादी मोर्चा गठन गर्ने निर्णय गरेको छ । यो मोर्चामा पहिचानवादी मोर्चा, नेपाल जनमुक्ति पार्टी, नागरिक उन्मुक्ति पार्टी, प्रदेश नम्बर १ समिति र प्रदेश नम्बर १ पुनः नामाङ्कन अभियान समिति आबद्ध भई मोर्चा गठन गर्ने निर्णय गरेको बैठकका सदस्य सचिव मधुराज केरुङले पत्रकार सम्मेलनमा बताए ।

हाल मोर्चामा चार सङ्गठनबीच एकता भएको छ भने आगामी दिनमा अन्य सङ्गठनलाई पनि समावेश गर्दै लाने निर्णय भएको नागरिक उन्मुक्ति पार्टी प्रदेश १ का सङ्घीय अध्यक्ष ज्ञानबहादुर गुरुङले बताए । ‘हामी पाँच महिनाभित्र पहिचानवादी दलहरूलाई समेटेर एउटा नयाँ शक्ति निर्माण गर्छौं’ उनले भने, ‘यो शक्तिको उद्देश्य नै पहिचानको आन्दोलनलाई निष्कर्षमा पु¥याउने हो ।’

नयाँ दल निर्माणका लागि चक्रीय प्रणालीको आधारमा हाल डकेन्द्रसिंह थेगिमको संयोजकत्वमा चार सदस्यीय अध्यक्ष मण्डल निर्माण गरिएको छ । यही अध्यक्ष मण्डलले नयाँ पार्टीको विचारधारा, कार्यदिशा, साङ्गठनिक संरचनालगायतका विषयमा छलफल गर्दै टुङ्गो लगाउने भएको छ ।

बिहीबारको बैठकले ताप्लेजुङको पाथीभरा मन्दिर अर्थात् मक्कुमलुङका लागि आन्दोलन परिचालन समिति गठन गरेको छ । समितिको संयोजकमा रामभक्त कुरुङ्बाङ, सहसंयोजकहरू सरु सिङ्घक, दिलेन्द्र कुरुङबाङ छन् । यस्तै कोशी नामकरण विरुद्ध आन्दोलनमा मोर्चाको तर्फबाट आन्दोलन परिचालन समिति संयोजकमा केपी पालुङ्वा, सहसंयोजकहरूमा जेन्टल लावती, केदार धिमाल, गजेन्द्र पालुङ्वा, धनबहादुर पन्धाकलाई चयन गरिएको छ ।

यो मोर्चाले जनविद्रोहको जग निर्माण गर्ने अपेक्षा गरेका छन् । ‘हाम्रो तयारी तेस्रो जनआन्दोलनको तयारी गर्दै मोर्चा अगाडि बढ्ने छ’ बैठकका सदस्य सचिव मधुराज केरुङले पत्रकार सम्मेलनमा भने । यो मोर्चाले दलित, शिल्पी, मधेशी, आदिवासी जनजाति, तथा मूलवासी, अल्पसङ्ख्यक धर्मावलम्बी, महिला तथा अन्य लैङ्गिक समुदायहरू तथा चक्रवर्ती ब्याज, सहकारी ठगी, लघुवित्तलगायतबाट पीडित भएकाहरूको आन्दोलनलाई पनि साथ सहयोग गर्ने जनाएको छ ।

यो मोर्चाले एकल जातीय राज्यको अन्त्य, अधिकार सम्पन्न पहिचान र ऐतिहासिक पृष्ठभूमिका आधारमा सङ्घीयतालगायतका मुद्दालाई विशेष जोड दिएको छ ।

पत्रकार सम्मेलनमा जारी बिज्ञप्ती:

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार