माङसेबुङ: इलामको माङसेबुङमा ‘पवित्रहाङमा गोल्डकप’ को १५ औं संस्करणको तयारी शुरु भएको छ ।
अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगिताको रुपमा परिचित गोल्डकप आउँदो माघ २५ देखि फागुन ३ गतेसम्म सञ्चालन हुनेछ ।
आत्मपवित्र खेलकुद समितिले बुधबार गरेको पत्रकार सम्मेलनमा अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन ६९औं शुभजन्मोत्सव तथा अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ नुमाङगेन्ना सेवा २०८१ को अवसरमा प्रतियोगिता प्रत्येक वर्ष हुँदै आएको जनाइएको छ ।
प्रस्तावित आत्मानन्द रंगशालामा हुने प्रतियोगितामा नेपाल र भारतका ८ महिला फुटबल टिमको सहभागिता रहने छ ।
खेलमा माङसेबुङ गाउँपालिका, दिपेन्द्र शिखर स्पोर्टस क्लब इलाम, रोयल स्पोर्टिङ क्लब दमक, कन्काई स्पोर्टस् एकेडेमी झापा, मिक्लाजुङ फुटबल क्लब पान्थर, जिल्ला फुटबल संघ ताप्लेजुङ, पथरी शनिश्चरे खेलकुद समिति मोरङ र भारतको स्टेस स्पोर्टस् एकेडेमी फर गल्स सिक्किम सहभागी हुने निश्चित भएको आयोजक समितिका अध्यक्ष मनकुमार आङबुहाङले जानकारी गराए ।
गोल्डकपको विजेताले ३ लाख १ सय ६९, उपविजेताले २ लाख १ सय ६९ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछन् ।
खेल अवधिमा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, खेलाडी, डिफेण्डर, स्ट्राइगर, मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी, बेस्ट कोचलाई नगद पुरस्कारबाट सम्मान गरिने बताइएको छ ।
जन्मोत्सवमा विभिन्न खेलकुद हुँदै
जन्मोत्सव कै अवसरमा विभिन्न खेलकुद समेत सञ्चालन गरिने छ ।
प्रतियोगिताकै अवसरमा कराँते, तेक्वान्दो, म्याराथन, म्युजिकल चेयर, हाँडी फुटाउने, गाग्री दौड, फुलमाला दौड, तान बुन्ने, चम्चा दौड, सियोधागो उन्ने खेल खेलाइने जानइएको छ ।
महिला खेलकुद विकास र अङसीमामाङको श्रम संस्कृति र रैथाने कृषि दर्शन प्रवर्दनका लागि गोल्डकप तथा खेलकुल आयोजना गरिएको आयोजकले जनाएको छ ।