नौमती बाजा बजाउने तालिम दिदै रोङ गाउँपालिका


सेवारो खबर  31 पटक हेरिएको

रोङ: इलामको रोङ गाउँपालिकाले नौमती बाजा बजाउने तालिम दिइरहेको छ । पालिकाले पुस ४ गतेदेखि १३ गतेसम्म स्थानीय महिलालाई तालिम दिएको हो ।

तालिमले लोक संस्कृतिको जगेर्ना गर्दै व्यवसायिक रुपमा बाजा बजाउन सिकाएको बताइएको  छ ।

तालिमका सहभागिले नौमती बाजामा झ्याली, ट्याम्को, ढोलक, नरसिङ्गा, दमाहा, सानो दमाहा, बाउँताल, सहनाई र कर्नाल बजाउँन सिकिरहेका छन् ।

बाजा बनाउँने सीपका साथै आर्थिक अवसरको विकास गर्न तालिमको आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बो (सुवास) ले बताए ।

कुनै समय दलित समुदायले मात्र बजाउनुपर्छ भनिएको नौमती बजाउन यहाँ ब्राह्मण, क्षेत्री समुदायका महिलाले पनि तालिम लिँदैछन् । बाजालाई महिलाको क्षमता विकास र आर्थिक अवस्था सुधार गर्ने अवसरका रूपमा सदुपयोग गर्न पर्ने गाउँपालिकाका अध्यक्ष  स्याङ्बोको भनाई छ । अध्यक्ष स्याङ्बोले पुस्ता हस्तान्तरण हुन नसकेको लोक सांस्कृतिक नौमती, बाजा संरक्षण गर्नु सबैको दायित्व हो भने ।

तालिममा सहभागी गीता कट्टेलले ब्राह्मण महिलाले नौमती छुन हुँदैन भन्ने समाजले हामीलाई  व्यङ्ग्य गरे तर सीप सिकिरहेका छौं उनले भने ‘यो सीपलाई व्यावसायमा रुपान्तरण गर्ने आत्मबल बढेको छ ।’

विभेदका कुराले समाजमा एकता नआउने भन्दै नौमतीलाई सबैको साझा लोकबाजाको रूपमा विकास गर्नु पर्ने स्थानीय रामबहादुर दर्जीले औल्याए । उनले विगतमा नौमती बजाउँदा विभेद गर्ने समुदायले नौमतीलाई साझा लोक संस्कृतिक बाजाको रूपमा स्विकार्न थालेकामा खुसी व्यक्त गरे ।

रोङ सङ्गिनी समूहको माग बमोजिम महिलाको आयमा सुधार गर्न पहिलो चरणमा १५ जनालाई तालिम दिइएको महिला तथा बालबालिका शाखा प्रमुख राधिका तामाङले बताइन् ।

तालिमको झापाको बिर्तामोडस्थित माता पाथीभरा नौमती बाजा ट्रेनिङ सेन्टरका प्रशिक्षक तारादेवी आचार्य र टीकादेवी प्रसाईँले सहजीकरण गरिरहेकी छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार