इलाम: मानव अधिकार मञ्च नेपाल इलामले बितरण गर्ने प्रदेश स्तरीय मानव अधिकार पत्रकारिता पुरस्कारबाट मोरङका पत्रकार गणेश लम्साल पुरस्कृत भएका छन् । मञ्चले मंगलबार विश्व मानव अधिकार दिवशका दिन पुरस्कार हस्तान्तरण गरेको छ ।
मञ्चको एघारौं पुरस्कार इलाम १ का संघीय सासंद महेश बस्नेतले लम्सालाई दोसल्ला ओढाई नगद १० हजार, सहित प्रमाण पत्र हस्तान्तरण गरेका थिए ।
मोरङको बुढिगंगा गाउँपालिका वडा नं. १ का लम्साल अहिले नयाँ पत्रिका राष्ट्रिय दैनिकमा कार्यरत छन् । आमा रत्नदेवी तथा बुवा कपिलमूनीको ज्येष्ठ सुपुत्र लम्सालले कानून विषयमा माध्यमिक शिक्षा, आम सञ्चार विषयमा स्नात्तक हुन ।
नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय महासचिव, नेपाल पत्रकार महासंघको तत्कालिन पूर्वाञ्चल संयोजकको रुपमा संस्थागत अनुभव गरेका छन् । यसका साथै विकास पत्रकारिता, खोज पत्रकारिता, शिक्षा पत्रकारिता, वातावरण पत्रकारिता, मानव अधिकार पत्रकारिताको अनुभव समेत बटुलेका छन् ।
मानव अधिकार मञ्चको अध्यक्ष मोहन सिंह थेबेको अध्यक्षतामा भएको कार्यक्रममा पुरस्कृत व्यक्तिको बारेमा पुरस्कार छनौट समितिका संयोजक मनकुमार बराइलीले जानकारी गराएका थिए ।
पुरस्कार यसअघि इलामका तीन झापाका दुई सञ्चारकर्मी सहित १० जनाले पुरस्कार प्राप्त गरिसकेका छन् ।
पुरस्कार पाउँनेहरुमा मोरङका यज्ञराज शर्मा, झापाका चन्द्र भण्डारी, इलामका सटेन्द्र जबेगु, खोटाङका दमन राई, ताप्लेजुङका आनन्द गौतम, इलामकी कोकिला ढकाल, झापाका पर्वत पोर्तेल, पाँचथरका भीम बास्कोटा, इलामका भीम चापागाई र धनकुटाका हरि लम्जेल पुरस्कृत भइसकेको मानव अधिकार मञ्चले जनाएको छ । मञ्चले २०७१ सालदेखि बार्षिक रुपमा मानव अधिकारसँग सम्बन्धि कलम चलाउँने सञ्चारकर्मीलाई पुरस्कृत गर्दै आएको छ ।