काठमाण्डौ: नेपालले आफ्नो दाबी गर्दै आएको दार्चुलाको कालापानी-लिम्पियाधुरा क्षेत्रमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी एक औपचारिक कार्यक्रममा पुगेको भन्दै नेपालमा कतिपयले आपत्ति व्यक्त गरेका छन् ।
भारतीय नियन्त्रणमा रहेको उक्त विवादित क्षेत्रमा भारतका प्रधानमन्त्री पहिलो पटक पुगेको बताइन्छ ।
भारतीय प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा मोदीले पार्वतीकुण्डमा पूजा गर्ने र गुन्जी गाउँका बासिन्दाहरूसँग अन्तरक्रिया गर्ने तथा स्थानीय उत्पादनहरूको प्रदर्शनी अवलोकन गर्ने उल्लेख छ ।
कतिपयले गुन्जी गाउँ नेपालले आफ्नो दाबी गर्दै आएको क्षेत्रमा पर्ने बताएका छन्। त्यस ठाउँमा यसअघि नेपालले जनगणना समेत गरेको बताइन्छ ।
एकजना पत्रकार शुभक महतोले मोदीको उक्त क्षेत्र भ्रमणको भिडिओ सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै परराष्ट्र मन्त्रालयको धारणा माग गरेका छन् ।
नेपाललाई जानकारी नदिइएको दाबी
नेपालले दाबी गर्दै आएको क्षेत्रमा भारतीय प्रधानमन्त्रीको भ्रमणबारे भारतले नेपाललाई औपचारिक जानकारी नगराएको परराष्ट्र मन्त्रालयका अधिकारीहरूले बताएका छन् ।
गृह मन्त्रालयका अधिकारीहरूका अनुसार नेपालको गुप्तचर निकायले गराएको जानकारीपछि मात्रै मोदीको भ्रमणबारे नेपाललाई थाहा भएको थियो ।
बीबीसीसँग कुरा गरेका दुवै मन्त्रालयका अधिकारीहरूले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा ती जानकारी दिएका हुन् ।
दार्चुला जिल्लाकी प्रमुख जिल्ला अधिकारी किरण जोशीले आफूहरूले अनौपचारिक माध्यमबाट जानकारी पाए पनि भारतीय पक्षले उक्त भ्रमणबारे केही जानकारी नदिएको बताइन् ।
“हामी त्यहाँ जान, हेर्न पाउँदैनौँ। भारतीय प्रधानमन्त्री पिथौरागढ आएको जानकारी छ। नेपालको भूमिमा पनि गए वा नगएकोबारे यकिन गर्न सकिरहेका छैनौँ,” उनले भनिन् ।
भारतका प्रधानमन्त्री मोदीको सामाजिक सञ्जालमा पार्वतीकुण्डमा उनले पूजा गरिरहेका तस्बिरहरू राखिएका छन् ।
उनले गुन्जीमा तिब्बतसँगको सीमामा खटिएका भारतीय सैनिकहरू र सीमामा सडक निर्माणमा संलग्न निकायका अधिकारीहरूसँग पनि अन्तरक्रिया गरेको भिडिओहरू उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्कर सिंह धामीले (यसअघि ट्विटर भनिने) सामाजिक सञ्जाल एक्समा राखेका छन्।
नेपालका परराष्ट्र मन्त्रालयका अधिकारीहरूले मोदीको भ्रमणबारे स्थानीय अधिकारीहरूबाट जानकारी लिने कार्य भइरहेको बताए पनि औपचारिक टिप्पणी गर्न अस्वीकार गरे। @bbc.comबाट।