इलामः इलाम नगरपालिकाले ९ वटा सिचाई कुलो निर्माण सम्पन्न गरेको छ । कृषिलाई पहिलो प्राथमिकता राखेर काम गरिरहेको नगरपालिकाले चालु आर्थिक वर्षमा ९ वटै सिचाई योजना पुरा गर्ने काममा लागेको नगर प्रबक्ता नुतनदेव दुलालले जानकारी गराए ।
निर्माण सम्पन्न भएको कुलोले ३ सय ४८ हेक्टर जमिनमा ६ हजार ८ सय ३० रोपनी भन्दा बढि खेति योग्य जमिनमा सिचाई सुविधा पुग्ने इलाम नगरपालिकाले जनाएको छ ।
सिचाईले २ हजार ९ सय ५० जनसंख्याका ५ सय ७७ घरधुरी प्रत्यक्ष रूपमा लाभान्वित हुने बताइएको छ ।
नगरपालिकाले गएको आर्थिक वर्ष २०७९/०८० मा ५ करोड ६९ लाख ५७ हजार ११ रुपैयाँको लागतमा ९ वटा सिचाई योजना सम्पन्न गरेको हो ।
निर्माण सम्पन्न भएका कुलोहरूमा इलाम नगरपालिका वडा नम्बर १ को छोटीखोला हिलेखोला फापरबारी सिचाई योजना, वडा नम्बर २ को लाप्चेखोला दियालिगाउँ स्वास्थ्यचौकी क्षेत्र सिचाई योजना, वडा नम्बर ३ को तालखर्क सिचाई याजना, वडा नम्बर ४ को नुरुङग खोला भित्ते बिचगाउँ हुदै हाइड्रो जाने कुलो, वडा नम्बर ८ को आहाले सिचाई योजना निर्माण सम्पन्न भएको छ ।
इलाम नगरपालिकाकै वडा नम्बर ११ को रातेखोला सिचाई कुलो र ठाडेखोला सिचाई योजना निर्माण सकिएको छ । यस्तै वडा नम्बर १२ को जनकल्याण घट्टेखोला सिचाई योजना र सटके मुहान शिकारी डाडा सिचाई कुलो निर्माण सकिएको नगरपालिकाले जनाएको छ ।
उपभोक्ताको १० प्रतिशत, स्थानीय, प्रदेश तथा संघीय सरकारको २०/२० प्रतिशत र स्वीस सरकारको साना सिचाई कार्यक्रम अन्तर्गत ३० प्रतिशत लगानीमा कुलो निर्माण गरिएको इलाम नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ४ का वडा अध्यक्ष नुतनदेव दुलालले जानकारी गराए ।
निर्माण सम्पन्न पश्चात कार्यक्रमको विषयमा सार्वजनिक सुनुवाई तथा नगरपालिकाको नेतृत्वमा अनुगमन समेत गरिएको थियो ।
चालू आर्थिक वर्षमा ९ वटै सिचाई योजना सम्पन्न हुँदै
इलाम नगरपालिकाले चालु आर्थिक वर्षमा ९ वटै सिचाई कुलो निर्माण सम्पन्न गर्ने जनाएको छ ।
सिचाई कुलो निर्माणको लागि अहिले धमाधम उपभोक्ता समिति निर्माण भइरहेको नगर प्रवक्ता नुतनदेव दुलालले जानकारी गराए ।
कुल लागत ६ करोड ४२ लाख ५६ हजार ४ सय १० रुपैयाँको लागतमा कुलो निर्माणको काम भइरहेको बताइएको छ ।
निर्माण भइरहेको कुलोले २ सय ३७ हेक्टर जमिनको ४ हजार ६ सय ३२ रोपनी भन्दा बढि खेति योग्य जमिनमा सिचाई सुविधा पुर्याउने लक्ष्य इलाम नगरपालिकाले राखेको छ ।
यसबाट ३ सय ५७ घर धुरीका १ हजार ८ सय ६५ जनसङख्याले प्रत्यक्ष लाभ प्राप्त गर्नेछन् ।