सूर्योदय नगरपालिकाको तेह्रौं अधिवेशन सकियो


सेवारो खबर  209 पटक हेरिएको

फिक्कलः सूर्योदय नगरपालिकाको तेह्रौं अधिवेशन सम्पन्न भएको छ । आगामी आर्थिक वर्ष २०८०/ ०८१ को लागि बजेट पारित गर्दै अधिवेशन अन्त्य भएको हो ।

बैशाख ८ देखि शुरू भएको अधिवेशनमा छ वटा बैठक बसेको छ । मंगलबारको छैटौं बैठकले सूर्योदय नगरपालिकाको आर्थिक विधेयक २०८० र सुर्योदय नगरपालिकाको विनियोजन विधेयक सर्वसहमतिले पारित गरेको हो ।

दुवै विधेयक उपप्रमुख दुर्गाकुमार बरालले सभामा पेस गरेका थिए । बैठकमा सातजना सदस्यहरूले बजेट तथा सार्वजनिक महत्त्वको प्रस्तावमा ध्यानाकर्षण गराएका थिए ।

नगरसभाको बैठकमा आकाश लेप्चा, कमल प्रसाद गड्तौला, श्याम कटुवाल, अरूण शर्मा, सरन लिम्बु, विनोद श्रेष्ठ र राजकुमार श्रेष्ठले बजेट र सार्वजनिक महत्वका विषयमा बेलेका थिए ।

सदस्यहरूले उठाएको विषयमा नगरप्रमुखले सम्बोधन गरेका थिए ।

तेह्रौं अधिवेशनबाट सूर्योदय नगरपालिकाको संघ संस्था दर्ता ऐन २०७४ लाई प्रतिस्थापन गर्न बनेको विधेयक २०८०, सार्वजनिक निजी साझेदारी ऐन २०७४ लाई प्रतिस्थापन गर्न बनेको विधेयक २०८० र केही स्थानिय ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित गरेको छ । अधिवेशनमा विषयगत समिति, न्यायिक समिति लगायतका प्रतिवेदन समेत पेस भएकाे नगर पंवक्ता ख्याम भूजेलले जानकारी गराए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार