इलामः प्रदेशको नाम पहिचानको आधारमा राख्नुपर्ने बिहिबार इलाममा आयोजित एक कार्यक्रमका बक्ताले बताएका छन् ।
उनिहरूले नेपाल आदिवासी जनजाति महासंघ इलामको ८ औं अधिवेसनको उद्घाटन सत्रमा बोल्दै जनमतले जनभावनाको कदर नगरेकोमा दुःख व्यक्त गरे ।
नेपाल आदिवासी जनजाति महासंघ केन्द्रीय उपाध्यक्ष जहरूमाया जिमि याक्खाले राजनीतिको नाममा आदिवासी जनजातिको जनमतलाई दुरूपयोग गरेर भोट बैकको रूपमा मात्र प्रयोग गरेको बताइन् । उनले नागरिकले दिएको मतलाई जनभावनामा बुझेर पहिचानको आधारमा प्रदेशको नाम राख्न सरकारसँग आग्रह गरिन् ।
नेपाल सरकार र नेपाल आदिवासी जनजातिसँग भएको सम्झोता बमोजिम पहिचानको आधारमा प्रदेशको नाम राख्नु पर्ने महासंघ इलामका सल्लाहकार मोहनसिंह थेबेले बताए । उनले सबै नागरिकमा राष्ट्रियताको भावना विकास गर्न सबैको जनभावना र पहिचानलाई सम्बोधन गर्नु पर्नेमा जोड दिए ।
नेकपा माओवादी केन्द्रका प्रकाश परियारले प्रदेशको नाम कोशी राखेर आदिवासी जनजातिको भावनामा खेलबाड गरेको बताए । उनले सबै जाति समुदायलाई सम्बोधन गर्ने पहिचानको नाम राख्नु पर्नेमा जोड दिए ।
सघीय समाजवादी पार्टीका छिकिन तामाङले सबै नागरिकको पहिचानलाई समेट्ने प्रदेशको नाम राख्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाली कांग्रेसका पूर्ण गौतम, नेकपा एमालेका सचिव उमेश गुरूङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र चौहान नेकपा एकीकृत समाजवादी पार्टीका कार्यालय सचिव मानबहादुर गुरुङ लगायतले बोलेका थिए ।
अधिवेसनको अवसरमा महासंघ जिल्ला परिषदकी कोषाध्यक्ष भएर माईजोगमाई गाउँपालिकाकी उपाध्यक्ष बनेकी प्रविना राईलाई प्रमाण पत्र सहित सम्मान गरिएको थियो ।
महासंघ अध्यक्ष अभिषेक येक्तनको अध्यक्षतमा भएको उद्घाटन समारोहमा जिल्ला दश वटै स्थानीय तहका महासंघ शाखाका प्रतिनीधि पर्यवेक्षक, शुभ चिन्तक सहभागी कार्यक्रममा विभिन्न झाँकी समेत प्रस्तुत भएको थियो ।
उपाध्यक्ष दिपक गुरूङले स्वागत गरको कार्यक्रम सचिव इश्वर लुङ्गेली मगरले सञ्चालन गरेको थियो ।
कार्यक्रम उद्घाटन अघि ठुलो टुँडिखेलदेखि चोक बजारसम्म विभिन्न झाँकी सहित प्रदेशको नाम कोशीको विरोधमा नाराबाजी गरेका थिए ।
आजै साँझ बन्दसत्र शुरु भई शुक्रबार भोलिसम्म चल्ने अधिवेशनले जिल्लाको नयाँ नेतृत्व चयन गर्ने जनाइएको छ ।