विश्वभर १ सय ३७ औं महागुरु फाल्गुनन्द जन्म जयन्ती मनाइदै


सेवारो खबर  166 पटक हेरिएको

इलाम: राष्ट्रिय विभूती महागुरु फाल्गुनन्द लिङ्देनको एक सय ३७ औं जन्मजयन्ती नेपालसहित विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रम आयोजना गरी विहीबार अर्थात कातिक २५ गते मनाइदैं छ ।

फाल्गुनन्दको जन्मजयन्तीको अवसरमा यस वर्ष एक सय ३७ औं जन्मजयन्ती समारोह केन्द्रीय स्तरमा मोरङको केराबारी र लेटाङ साथै सुनसरीको भरौलमा किरात माङहिम समुदघाटन तथा फाल्गुनन्दका सालिक अनावरण हुँदैछ । यसका साथै इलाम नगरपालिकामा फाल्गुनन्दको सालिन अनावरण हुँने बताइएको छ ।

मोरङको कार्यक्रममा किरात धर्मगुरु आत्मानन्द लिङदेन र गुरुआमा साँवा पवित्रहाङमा लिङदेनको उपस्थिती हुने किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिंह योङहाङले जानकारी दिए ।

विश्वको विभिन्न मुलुकमा फाल्गुनन्दको जन्म जयन्ती कार्यक्रम मनाउने तयारी गरिएको हो । किरात धर्मावलम्बीहरु बसोवास भइरहेको नेपालको विभिन्न जिल्लाहरुमा जन्म जयन्ती मनाउने गरेका छन् । किरातजन्य धार्मिक तथा सामाजिक संघ संस्थाहरुले विशेष गरी फाल्गुनन्द जन्म जयन्ती मनाउने गरेका छन् ।

नेपालको ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा, संखुवासभा, उत्पत्यकाको काठमाडौं, भक्तपुर, ललितपुर, कास्की, उदयपुर, खोटाङ, भोजपुर लगायतका जिल्लाहरुमा साथै प्रत्येक किरात माङहिममा जन्मजयन्ती मनाउने तयारी भइरहेको जनाइएको छ ।

त्यस्तै भारत, भूटान, हङकङ, बेलायत, मलेसिया, कतार, दुबइ, साउदी, ब्रुनाई, कोरिया, जापान, संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया, क्यानडा, साइप्रस लगायतका मुलुकहरुमा महागुरु फाल्गुनन्द जन्मजयन्ती मनाउने गरिएको छ ।

तत्कालीन समयमा लोपोन्मुख अवस्थामा पुगेको किरात धर्म दर्शन, भाषा, लिपि, संस्कार र संस्कृतिलाई पुनः उत्थान गर्न र कुरीति कुसंस्कारमा रमाइरहेका किरात समुदायलाई सत मार्ग दर्शनमा डोर्याउन किरात धर्म दर्शनका पुनः उत्थापक, महान् समाज सुधारक राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको किरात समुदायमा जन्म भएको थियो । फाल्गुनन्दको सत्य, शान्ति र अहिंसावादी दर्शनलाई पछिल्लो समय विश्वमा अनुसरण गर्न थालिएको छ । किरात धर्मावलम्बीहले फाल्गुनन्दलाई किरात धर्म दर्शन पुनः उत्थापक, समाज सुधारक मुहिङगुम अङसीमाङको रुपमा आस्था र श्रद्धा पोख्ने गर्दछन् ।

फाल्गुनन्दले तत्कालीन कुरीति कुसंस्कारमा रुमलिरहेका समाजलाई सुधार गर्नका लागि वि.स.१९८८ साल वैशाख २४ गते पाँचथरको लब्रेकुटीमा १० लिम्बुवान १७ थुमका गन्यमान्यहरुको भेला गराई समाज सुधार गर्न ७ बुँदे सत्य धर्म मुचुल्का निर्माण गरेका थिए ।

समाज सुधार अभियानमा आजीवन लालेका फाल्गुनन्दलाई राज्यले जीवन भरी राजद्रोही, देशद्रोही र पूर्व लिम्बुवानको राजा हुन खोजेको आरोप लगाउँदै गिरफ्तार गर्ने र अनेकौं दुःख, पीडा दिने काम गरेको थियो । तर, उनको निधन भएको ६१ वर्षपछि राज्यले पनि फाल्गुनन्दलाई समाज सुधारकको रुपमा चिनेको छ । यसरी राज्यले चिनेपछि फाल्गुनन्दलाई वि.स. २०६६ मंसिर १६ गते नेपाल सरकारले राष्ट्रिय विभूतिले सम्मानित गरेको छ ।

छरपस्टिएको र दिशाविहिन किरात धर्म दर्शनलाई निश्चित मार्ग देखाउँदै किरात धर्म दर्शन, भाषा, लिपि, संस्कार संस्कृतिलाई पुनः उत्थान गरेकाले नेपालको पूर्वी लिम्बुवान भूमिको इलाम जिल्ला माङसेबुङ गाउँपालिका वडा नम्बर २ साविक इभाङ गाविस वडा नम्बर ५, चुक्चीनाम्बा गाउँमा बाबु जगुनवाज लिङ्देन र आमा हंसमति वेघा लिम्बूको कोखबाट वि.स. १९४२ साल कात्तिक २५ गते आइतबार साईला छोराको रुपमा फाल्गुनन्दको जन्म भएको थियो । फाल्गुनन्दको निधन वि.स. २००५ चैत २२ गते सोमबार अपरान्ह ६३ वर्षको उमेरमा पाँचथरको सिलौटीमा भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार