नेपाली राजनीतिमा बेतिथीको जरो


अरुण नेपाल  314 पटक हेरिएको

उखेलेरै छाडौं समस्याको मुल जरो !
यसैमा छ जनता र मुलुकको भलो !!
झण्डै ७ दशक अघि सङ्गसङ्गै परिवर्तनको यात्रा शुरु गरेका नेपालका दुई छिमेकी मुलुक चीन र भारत विश्व शक्तिको रुपमा उदाउदै गर्दा त्यतिबेलै परिवर्तनको यात्रा शुरु गरेको नेपाल चाहिँ विश्वकै एक भ्रष्ट र तन्नम मुलुकको रुपमा दरिएको दरिएकै छ ।

यी ७ दशक मध्ये पहिलो दशक २००७ सालमा शसस्त्र क्रान्तिमार्फत परिवर्तनको यात्रा शुरु गरेको नेपाली काङ्ग्रेसका कोइराला दाजुभाइ मातृकाप्रसाद कोइराला र वीपी कोइरालावीचको आन्तरिक कलह चुलिदा परिवर्तन संस्थागत हुनै सकेनछ ! फलस्वरूप राजा त्रिभुवनसङ्ग भएको सम्झौताबमोजिम सम्बिधानसभाको निर्वाचन हुन सकेनछ ! त्यसपछि काङ्ग्रेस र कम्युनिस्टको आन्तरिक किचलोमा खेलेर राजा महेन्द्रले मुलुकमा पन्चायती व्यवस्था लाधेछ्न ।

काङ्ग्रेस र कम्युनिस्टका बडेबडे नेता नै पन्चायतमा प्रवेश गरेछन् ! अनि राजाले काङ्ग्रेस र कम्युनिस्टका नेतालाई फकाउदै, थर्काउदै, जेलमा जाक्दै, हत्या गर्दै वा चरम यातना दिदै वा वaरालाले मुसो खेलाए झै खेलाउदै ३ दशकसम्म शासन गरेछन् ! अन्ततः नेपाली जनताको बलियो साथ पाएपछि काङ्ग्रेस र कम्युनिस्ट मिलेर पन्चायती व्यवस्थाको अन्त्य गरेछन् ! ३ दशक लामो पन्चायती व्यवस्था सदाका लागि अन्त्य भएछ ! अनि नेपालमा संसदीय अभ्यास शुरु भएछ ! नेपालको दुर्भाग्य नै भन्नुपर्छ, त्यही समयदेखि मुलुकका हरेक अङ्गअङ्गमा चरम दलीयकरण र गुटगत चलखेल शुरु भएछ ! फलस्वरूप नेपाली काङ्ग्रेसको बहुमतको सरकार ढलेछ ! राजनीतिक अस्थिरताको नर्सरी त्यही समयमा शुरु भएछ ।

त्यसपछि सम्पन्न भएको मध्यावधि निर्वाचनमा कुनै पनि दलले बहुमत प्राप्त गर्न नसकेपछि यो ३ दशककै सबभन्दा लोकप्रिय सरकार भनेर कहलिएको मनमोहन अधिकारीको अल्पमतको सरकारलाई पनि “फु” गरेर ढालिएछ ! अनि मनमोहन अधिकारीले पनि मध्यावधि निर्वाचनको घोषणा गरेछन् ! त्यसका विरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेछ ! अनि दलीय दलदल र गुटगत चलखेल अदालतमा प्रवेश गरेछ ! त्यहि कारणले बहुमतीय सरकार ढलेपछि रोपिएको वीष वृक्षका हागाविगा पलाउन थालेछ्न ! अनि अदालतमा दलीय दलदल र गुटगत चलखेलको त्यो मुल हागो पनि निकै हौसिएर बढ्न थालेछ ! अस्थिरताको मुलजरो झन् बलियो भएछ ! अनि शुरु भएछ भागवण्डे नामको अर्को मुल हागो पलाउन ! त्यो मुल हागामा भागवण्डाका अन्य अनगिन्ती हागाविगा लागेछ्न ! फलस्वरूप वीष वृक्षका हागाविगा झागिदै जादा त्यसको सेपले सरकारी विद्यालयहरु, विश्वविद्यालयहरु, सरकारी अस्पतालहरु, निजामती प्रशासन, सुरक्षा निकाय, संबैधानिक अङ्ग, पत्रकार जगत आदि सबै तहसनहस भएछन् ! भागवण्डे हागो बढ्दै जादा भागवण्डामा समेत कुरा नमिलेपछि वहालवाला प्रधानन्यायाधीस नै प्रधानमन्त्री बनेपछि त अदालत नै निर्णायक शक्तिमा परिणत भएछ !

अल्पमतको सरकारका प्रधानमन्त्रीले घोषणा गरेको मध्यावधि निर्वाचन रोक्ने निहुँ र बहानामा अदालतमा प्रवेश गरेको दलीय दलदल र गुट्गत चलखेलको त्यो बिरुवा हुर्कदै जादा नेपाली जनताले निर्माण गरेको सक्कली सम्बिधानसभा विगठन गरि आफै नक्कली सम्बिधानसभाको गठन गर्ने निर्विकल्प शक्तिको रुपमा अदालत स्थापित भएछ ! प्रधानन्यायाधीश नै प्रधानमन्त्री भएर गराएको त्यहि नक्कली सम्बिधानसभाले बनाएको सम्बिधानको कार्यान्वयन हुँदै जादा संसद निकम्मा भएछ । प्रधानमन्त्री नै संसदको हत्या गर्न आतुर भएछ्न । प्रधानमन्त्रीले एकपटक मात्र होइन दुईपटक नै संसदको हत्या गर्दा पनि त्यो संसदमा प्राण भर्ने काम पनि अदालतले नै गर्‍यो । संसदमा प्राण भरिदिए पनि संसदले निर्वाचन गर्दै आएको प्रधानमन्त्री चुन्ने झन्झटबाट पनि अदालतले संसदलाई मुक्त गरिदियो । दलबाट निर्वाचित सांसदलाई प्रधानमन्त्रीले विश्वासको मत नपाउन्जेल उनीहरू सबैलाई स्वतन्त्र सांसदमा परिणत गरिदियो ।

प्रधानमन्त्रीले नियुक्ति गरेका मन्त्री हटाइदिने, दल फुटाउने, जुटाउने आदि जस्ता कुरा त अदालतका लागि सामान्य कुरा भैहाले ! अनि आफैले गठन गरेको सम्बिधानसभाले निर्माण गरेको सम्बिधानको धारा बमोजिम आफ्नै फैसलाले बनाएका प्रधानमन्त्रीसङ्ग प्रधानन्यायाधीशले भागवन्डा खोजेकै कारणले ३/३ महिनासम्म जाबो मन्त्रीपरिषद नै विस्तार हुन सक्दैन भने मुलुकमा दलीय दलदल (द), गुटगत चलखेल (गु) र भागवण्डे (भा) कुसंस्कार वा दगुभा कति निर्णायक भएर आएछ ! यति हुँदा पनि दगुभाको विरुद्ध जेहाद नछेड्नु भन्दा ठूलो धोका अरु के होला ? त्यसकारण अब नेपाल आमाको भलो चाहने सबै एकीकृत रुपमा जुटौं ! दगुभा नामक मुलुककै मुल समस्याको यो मुल जरो तत्काल उखेलेर फालौ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार