इलाम: न्यायिक समितिलाई न्यायिक कार्य सम्पादन सम्बन्धि सीपको आवश्यक भएको इलाममा आयोजित एक कार्यक्रमका बक्ताले बताएका छन् । मानव अधिकार मञ्च नेपाल इलामले भर्चुअल माध्यमबाट गरेको न्यायिक समितिको न्यायिक कार्य सम्पादन प्रगती समिक्षा र वर्तमान चुनौती विषयक अन्तरक्रियाका बक्ताले न्याय सम्पादनको प्रकृयागत सीपमा जोड दिएका छन् ।
आम नागरिकमा न्यायिक समितिको विश्वास बढ्दै गएपनि न्याय सम्पादनको नीतिगत व्यवस्थालाई कार्यान्वय गर्न सीप युक्त प्राविधिक जनशक्तिको आवश्यकतामा जोड दिए ।
विवाद व्यवस्थापनको काम न्यायिक समितिले गरे पनि विभिन्न समस्यको कारणले नीतिगत न्याय सम्पादनको काम हुँन नसकेको देउमाई नगरपालिकाकी उपप्रमुख तथा न्यायिक समितिका संयोजक पविमाया राईले बताइन् । उनले न्यायिक समितिको क्षेत्राधिकारको सवालमा आम नगरिकलाई जानकारी भए न्याय सम्पादनको काममा सहज हुँने धारणा राखिन् ।
माइजोगमाई गाउपालिकाकी उपाध्यक्ष तथा न्यायिक समितिको संयोजक साबित्रा भट्टराईले न्यायिक समितिले विवादको व्यवस्था गरिरहे पनि प्रकृयागत सीपको विषयमा जानकार भए अझै सहज हुँने अनुभव राखिन् ।
विवादको व्यवस्थापन मेलमिलापबाट गरिएपनि आवश्यक सीपको जानकारीको अभावले प्रकृयामा केही असहज भएको बताउँदै कार्य सम्पादनको थप सीप भए काम गर्न सहज हँुने माङ्सेबुङ गाउँपालिकाकी उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक सुनिता सुब्बाले आफ्नो अनुभव सुनाइन् ।
न्यायिक समितिमा आएको उजुरीको कारबाही किनारा गर्दा अपनाउनु पर्ने सीपको अभावले न्याय सम्पादनको काममा सहज हुँन नसकेको सन्दकपुर गाउँपालिका उपाध्यक्ष शोभा पराजुलीले बताइन् ।
न्यायिक समितिको क्षेत्राधिकारको विषयमा आम नागरिकमा सचेतना जगाउँन सके विवाद व्यवस्थापनको कार्य सम्पादनमा सहज हुँने इलाम नगरपालिकाकी न्यायिक समितिका सदस्य सानु दासले बताइन् ।
कार्यक्रममा चुलाचुली गाउँपालिकाको कानुनी सल्लाहकार बिक्रम बस्नेत, फाकफोकथुमका उजुरी प्रशासक विमल घिमिरे, रोङ गाउँपालिकाकी उजुरी प्रशासक रेनुका राई, देउमाई नगरपालिकाकी उजुरी प्रशासक डिमला राईले विवाद व्यवस्थापनको काम गरेपनि न्यायिक समितिले नीतिगत प्रकृयालाई प्रभावकारी रूपमा कार्यान्वयमा जोड दिनु पर्ने बताए ।
मानव अधिकार मञ्चका कार्यकारी निर्देशक देबेन्द्र विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा कोभिड–१९ कोरोना महामारीले न्याय सम्पादनको क्षेत्रमा पारेका असर र यसको सिकाईको बारेमा छलफल भएको थियो ।
मञ्चका योजना तथा अनुगमन अधिकृत योगराज सापकोटाले सहजिकरण गरेको कार्यक्रम पारस राईले सञ्चालन गरेका थिए ।