काठमाडौं : भगिराज इङनामको पुस्तक ‘लिम्बूवानको ऐतिहासिक दस्तावेज संग्रह सम्बत १७१९–२०२०’ले यस वर्षको मदन पुरस्कार पाउँने भएको छ । मदन पुरस्कार गुठीको बिहीबारको साधारण सभाले इङ्नामको पुस्तकलाई पुरस्कारका लागि छनौट गरेको हाे ।
नेपाली इतिहासका प्राथमिक सामग्रीहको संकलन र पहुँचलाई विस्तार गरेकाले भगिराजको पुस्तकलाई ‘मदन पुरस्कार २०७७’ प्रदान गरिने निर्णय गरेको गुठीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
सात दशकदेखि नेपाली नृत्य विधाको अध्ययन, अनुसन्धान र मञ्चन गर्दै सैद्धान्तिक तथा प्रयोगात्मक ज्ञानमार्फत नृत्य क्षेत्रको उन्नयनमा समर्पित भैरबबहादुर थापालाई २०७७ सालको ‘जगदम्बा श्री’ प्रदान गर्ने निर्णय गरेको छ ।
दुवै पुरस्कारको राशि जनही ४ लाख रुपैयाँ रहेको छ ।
मदन पुरस्कार गुठीमा २०७७ सालमा प्राप्त २ सय २२ पुस्तक मध्येबाट गुठीले ९ वटाको मदन पुरस्कार श्रेष्ठ सूची सार्वजनिक गरेको थियो ।
‘मदन पुरस्कार’का लागि यो वर्ष भगिराजको पुस्तकसहित गिरि श्रीस मगरको ‘एकलब्यको देब्रे हात’, कृष्ण अविरलको ‘करिया’, कुमार नगरकोटीको ‘कल्प–ग्रन्थ’, भैरबबहादुर थापाको ‘नृत्याक्षर विज्ञान’, प्रभा बरालको ‘फिलिङ्गो’, लेखनाथ क्षेत्रीको ‘फूलाङ्गे’, केशव दाहालको ‘मोक्षभूमि’, जेसन कुँवरको ‘रमिते’ प्रतिष्पर्धी थिए ।