इलाम : अनेरास्ववियु इलामले आयोजना गरेको अन्तरराष्टिय निबन्ध प्रतियोगिताको विजेता सार्वजनिक गरेको छ । आइतबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको विजेता घोषणा गरेको हो । आयोजक संस्थाले काठमाडौं नयाँ बानेश्वरका संकल्प कोइराला प्रतियोगिताको प्रथम, खोटाङ राजपानीका केशव भण्डारी दोस्रो र देउमाई नगरपालिका इलामकी मनिसा अधिकारीले तेस्रो स्थान हासिल गरेकी जानकारी गरायो । ‘वैदेशिक शिक्षामा नेपाली युवाहरुको पलायन : समस्या र समाधान’ विषयक निबन्ध लेखेर पुरस्कार हात पारेका उनिहरुले क्रमश नगद ३५ हजार ८ सय, २३ हजार ८ सय र ११ हजार ९ सय हात परेका छन् । विजेता तीनै जनालाई हप्तादिन भित्र सम्बन्धित व्यक्तिको बैंक खातामा जम्मा गरिदिने अनेरास्ववियु इलामका संयोजक मिलन खत्रीले जानकारी गराए। शहिद रत्नकुमार वान्तवको जन्मजयन्ति एवम् स्मृति दिवसको अवसरमा २०७७ चैत २७ गते अनेरास्विवियुले ‘वैदेशिक शिक्षामा नेपाली युवाहरुको पलायन : समस्या र समाधान’ विषयक निबन्ध लेखन प्रतियोगिता घोषणा गरेको थियो । १ महिनाको अवधि तोकेर घोषित प्रतियोगितामा नेपाली र अंग्रेजी दुवै भाषामा इमेलमार्फत निबन्ध माग गरेको थियो । कोरोना भाइरस महामारीले १ महिना समय थप गरेको थियो । २ महिनाको अवधिमा आएका निबन्धको मुल्याङ्कन गरी नतिजा प्रकाशन गरिएको अनेरास्ववियुले जनाएको छ । प्रतियोगितामा नेपाल र भारतका गरी ४९ जनाको सहभागी थिए । सहभागिहरु मध्ये नेपालबाट ४२ जना, भारत १ जना र विभिन्न देशमा रहेका ४ जना नेपाली सहभागी भएको बताइएको छ । प्रतियोताको निर्णायकमा डा. देवी क्षेत्री दुलाल, दीफक लुङ्गेली र मौसमी गुरागाई थिए । कार्यक्रममा अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य प्रवेश पराजुलीले अध्ययनको शिलशिलामा क्षमता भएका युवाहरु विदेशिने र उतै रहने परिपाटी बढेकाले मुलुकमा दक्ष जनशक्तिमा दीर्घकालीन असर पर्ने चुनौती रहेको बताए । नेपाल पत्रकार महासंघ इलाम शाखाका अध्यक्ष विप्लव भट्टराईले युवाहरु विदेशमा गएर अध्ययन गर्नु राम्रो भएपनि उतै पलायन हुने परिपाटीले समाजमा नकरात्मक सन्देश प्रवाह भइरहेको बताए । विद्यार्थीहरुलाई लेखन कार्यमा प्रोत्साहन गर्ने उद्देश्यले निबन्ध प्रतियोगिता आयोजना गरिएको अनेरास्ववियु इलामले जनाएको छ ।