इलामः मानव अधिकार मञ्च नेपाल इलामले ३० स्थानीय तहमा कोभिड–१९ विपद सहयोग परियोजना सञ्चालन गर्ने भएको छ । स्थानीय तहमा कोभिड लक्षित सेवालाई बालमैत्री बनाउँन परियोजना सञ्चालन गर्न लागेको आइतबार(आज) पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
स्थानीय सरकारको विपद लक्षित सेवा प्रवाहलाई बालमैत्री बनाउँन सुनिश्चित गर्दै कोभिड–१९ को जोखिमको समयमा आपतकालिन सेवालाई प्रर्वद्वन गर्ने उद्देश्यले परियोजना सञ्चालन गर्न लागेको परियोजना संयोजक भक्त थामीले जानकारी गराए ।
परियोजनाले स्थानीय तहको कोभिड अस्पतालमा २० प्रतिशत बालबालिकाको लागि बेड छुट्याउँन समन्वय गर्दै, आइसोलेनसमा बस्ने बालबालिकालाई स्वाथ्य, खेलकुद तथा शैक्षिक सामग्री दिने बताइएको छ ।
मञ्चको बाल हेल्पलाइन १०९८(दशनौआठ)ले सञ्चालन गर्ने परियोजना इलाम, पाँचथर, ताप्लेजुङका सबै स्थानीय तह र तेह्रथुमको मेन्छ्यायेम, फेदाप र आठराई गाउँपालिकामा कोभिड–१९को महामारीका समयमा हिंसा पीडित र जोखिममा परेका बालबालिकाको सुरक्षा र संरक्षणको क्षेत्रमा काम गर्ने मञ्चका कार्यकारी निर्देशक देबेन्द्र बिश्वकर्माले जानकारी गराए ।
परियोजनासँगै बाल हेल्प लाइनले जोखिममा परेका बालबालिकाको आपतकालिन, आकस्मिक उद्धार, राहत, मनोविमर्श तथा संरक्षण सहयोग, पारिवारिक पुनर्मिलन, पुर्नस्थापना, समन्वय र सहजीकरण गर्न स्थानीय सरकार जिल्ला कोभिड व्यवस्थापन समिति राष्ट्रिय बाल अधिकार परिषद, बाल संरक्षण डेक्स, बाल अधिकार समिति सञ्चार क्षेत्रसँग समन्वय गर्ने जनाइएको छ ।
कोभिडको महामारी लक्षित परियोजना एक वर्ष अथार्त (१ जुलाई २०२१ देखि जुन ३०, २०२२) सम्म सञ्चालन हुनेछ । एक वर्षमा परियोजनाले आन्तरिक प्रशासनिक खर्च सहित ७० लाख १४ हजार खर्च गर्ने जनाइएको छ ।
परियोजनालाई प्रभावकारी बनाउँन अहिले बेस लाइन सर्वेको काम भइरहेको छ । स्थानीय पालिकामा कोभिडको अवस्था, प्रभावित बालबालिकाको तथ्याङ्क संकलन, कोभिड अस्पताल, सामग्री, जनशक्ति र बालबालिकाको आइसोलेसनको बारेमा जानकारी लिने काम भइरहेको १०९८ का घटना व्यवस्थापन अधिकृत मनकुमार बराइलीले जानकारी गराए ।
‘बालबालिकाको सवालमा सरकार जिम्मेवार हुँनुपर्छ’
मानव अधिकार मञ्चका अध्यक्ष मोहनसिंह थेबेको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा सहभागीले बालबालिकाको सवालमा सरकार जिम्मेवार हुँनु पर्ने बताए ।
उनिहरूले कोभिड जोखिमको समय अझ बढी सतर्कता अपनाउँनु पर्नेमा जोड दिए ।
उच्च बार एसोसिएसन इलामका अध्यक्ष तथा मानव अधिकार मञ्च नेपाल उपाध्यक्ष बीरबहादुर खड्काले बालबालिकाको जोखिमको विषयमा सबै क्षेत्र संवेदनशिल हुँनु पर्ने बताए ।
उनले बालबालिका जोखिममा पर्नुमा परिवार जिम्मेवार भएकोले यसको व्यवस्थापनको स्थानीय तहले काम गर्नुपर्नेमा जोड दिए ।
पत्रकार महासंघ अध्यक्ष विप्लभ भट्टराईले बालबालिकाको क्षेत्रमा स्थानीय पालिका जिम्मेवार हुँनुपर्ने बताए ।
उनले कोभिडको समयमा बालबालिको सुरक्षाको विषयमा नीतिग व्यवस्थापनको अभाव भएको बताउँदै स्थानीय तह थप जिम्मेवार हुँनुपर्ने सुझाए ।
महासंघ पूर्व अध्यक्ष कोकिला ढकालले बालबालिकाको संरक्षणको सवाल स्थानीय तहसम्म पुगे मात्र सहज हुने बताइन् । उनले कोभिडको दिगो व्यवस्थापनसँगै बालबालिको सुरक्षामा सरकारी चासो देखिनुपर्नेमा जोड दिइन् ।
महासंघ उपाध्यक्ष ख्याम भूजेल, कोषाध्यक्ष राम योङहाङ, राजेश पराजुलीले काभिड जोखिमको समयमा मात्र होइन अन्य समयमा पनि बालबालिका जोखिममा पर्ने भएकोले यसकाले लागि सरोकारवाला संवेदनशिल हुनुपर्ने बताए ।