पाँचथरः फिदिम नगरपालिका १ कात्तिके र मालबाँसे क्षेत्रका पहिरो बिस्थापित परिवारका बालबालिकालाई राहत दिइएको छ । मानब अधिकार मञ्च नेपाल इलाम बाल हेल्पलाइन १०९८ (दशनौआठ) ले शुक्रबार (आज) राहत प्रदान गरेको हो ।
पहिरोले बिस्थापित छ घर परिवारका १२ जना बालबालिकालाई राहत प्रदान गरेको मानव अधिकार मञ्च नेपाल इलामले जनाएको छ ।
बिस्थापित परिवारका बालबालिकालार्ई खाद्यान्न सहित, मास्क, सेनिटाइजर, साबुन लगायतका स्वास्थ्य सामग्री दिइएको मञ्चका बाल हेल्पलाइन प्रमुख भक्तबहादुर थामीले जानकारी गराए ।
गएको साउन ५ गतेदेखि परेको अबिरल वर्षाका कारण विस्थापित भएका परिवारका बालबालिकाको खानपान र पालन पोषणमा खाद्यान्नको अभाव भएको भनि सहयोगको लागि अनुरोध भएको हुँदा बालबालिकालाई लाभान्वित हुनेगरी खाद्यान्न सामग्री सहयोग गरिएको बाल हेल्पलाइन घटना व्यवस्थापन अधिकृत मनकुमार बराइलीले बताए ।
चार हजार पाँच सय बराबरको खाद्यान्न सामग्री वडाध्यक्ष गजाधर भट्टराई, वडा सदस्य बालानन्द अधिकारी मार्फत बिस्थापित परिवारका बालबालिकालाई बाल हेल्पलाईन प्रमुख भक्तबहादुर थामी, घटना व्यवस्थापन अधिकृत मनकुमार बराईलीले हस्तान्तरण गरे ।
के हो ? बाल हेल्पलाइन १०९८ (दश-नौ-आठ): बाल हेल्पलाइन बालबालिकालाई कुनै पनि समस्या परेमो बेला तुरुन्त सहयोग तथा सल्लह दिने ठाउँ हो । बाल हेल्पलाइनले बालालिकालाई सहयोग गर्न आपतकालिन पैसा नलाग्ने फोन १०९८(दश-नौ-आठ) संचालन गर्दछ ।