इलाम नगरपालिकाको सेल्फिपुलको न्वारान अब जनक चोक


सेवारो खबर  242 पटक हेरिएको

इलामः इलाम नगरपालिको सेल्फीपुल रहेको ठाउँलाई जनक चोक नामाकरण गरेको छ । यो ठाउँ नगरपालिका वडा नं. ७, ८ र ९ को संगमस्थल हो ।

चोकमा राष्ट्रिय विभूति राजा जनकको शालिक राखिने छ । जसले नगरपालिकाले सौन्दर्यीकरणसँगै हिमाल, पहाड तराई मधेशको राष्ट्रिय अखण्डता तथा एकतालाई झल्काउन शालिक स्थापना गर्ने निणर्य गरेको प्रशासकीय अधिकृत रामकुमार साहले बताए ।

राजा जनक प्राचीन राज्य मिथिलाका ऐतिहासिक राजा हुन । प्राचीन राज्य मिथिलाको राजधानी जनकपुर हो ।

पौराणिक मान्यता अनुसार राजा जनक भगवान श्रीरामकी पत्नी सीताका पिता हुन । जनकलाई विदेह पनि भनिन्छ । जनक उनको वंशकै नामबाट राजा जनकका रूपमा प्रसिद्ध भए । जनक वंशका जम्मा ५२ जना राजा भएका थिए । जनक २२ औं सूचीका राजा हुन् ।

राजा जनकको जन्म र मृत्युका विषयमा निश्चित तिथिमिति पाउन सकिँदैन । अनुमानका भरमा ई पू ८ सय ५० देखि ३ सय ८२ सम्मको पौराणिक काललाई उनको जीवन अवधि मानिएको छ ।

जनकका पुरोहित याज्ञवल्क्य ऋषि थिए । शुक्ल यजुर्वेदमा भागिरथी गङ्गादेखि उत्तर, हिमालयदेखि दक्षिण, गण्डकीदेखि पूर्व, कोशीदेखि पश्चिमको भूभागलाइ प्राचीन मिथिला क्षेत्र उल्लेख गरेको पाइन्छ । शुक्ल यजुर्वेद माध्यन्दिन शाखाका मन्त्रद्रष्टा याज्ञवल्क्य हुन ।

मिथिलाको राजधानी जनकपुर त्यतिबेला दर्शन विद्याको ठूलो केन्द्र थियो ।प्राचीन ग्रन्थ रामायणमा मिथिला र जनकपुरको उल्लेख पाइन्छ ।

राजा जनकको समयमा मिथिला सभ्यताको उत्कृष्ट अवस्थामा थियो । राजा जनक जन्मसिद्ध योगी थिए । उनले कसैबाट ज्ञान सिकेका थिएनन् । उनलाई आत्मज्ञान भएको थियो ।

उनले सबै मिलेर सँगै बसौं, बाँडीचुँडी खाऔँ, एक भई काम गरौं, शान्ति कायम गरौं, लडाइँ झगडा नगरौ भन्ने उपदेश सबैलाई दिन्थे । यी पाँच उपदेश हिजो, आज र भोलि पनि उत्तिकै सान्दर्भिक छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार